धनगढी । चुरे गाउँपालिका–४ बालुवागडास्थित सूर्यमुखी आधारभूत विद्यालयको नवनिर्मित चार कोठे पक्की भवनको उद्घाटन गरिएको छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ४५ लाख रुपैयाँको लागतमा निर्मित सो भवनको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले आइतबार एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बोगटीले भवन निर्माणले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहजता हुने बताए । उनले गाउँपालिका भर शैक्षिक गुणस्तर कायम गर्न गाउँपालिका लागि परेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर तारामीको अध्यक्षतामा भएको कार्यक्रममा चुरे गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रबहादुर लामिछाने, शिक्षा शाखा प्रमुख बिबिराज सोती लगायतले मन्तव्य व्यक्त गरेका थिए ।













