धनगढी । प्रहरीले कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा यही जेठ ६ गते (शुक्रबार) बिहान मृत अवस्थामा भेटिएकी १९ वर्षीय तुलसी नाथको हत्या आरोपितलाई सार्वजनिक गरेको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीमा आइतबार पत्रकार सम्मेलन गर्दै हत्या आरोपित मृतकका सहोदर देवर नवीन नाथलाई सार्वजनिक गरिएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रणबहादुर चन्दले मृतक तुलसीको शव घर नजिकै पानीको नालामा फेला परेको र घटनाको सूक्ष्म अनुसन्धान गर्दा हत्या गरेको खुल्न आएको बताए ।
उनले प्रहरी घटनास्थलमा पुग्दा मृतकको शव घर अगाडि नालाबाट निकालेर आँगनमा राखिएको तथा शव जाँच गर्दा मृतकले लगाएका गरगहना निकाली लगेको अवस्थामा पाइएको बताए ।
मृतक तुलसीका हत्या आरोपित नवीनले जेठ ५ गते राति अन्दाजी १२ बजेको समयमा मृतक तुलसीको कोठामा गइ सुतिरहेको अवस्थामा नाक,मुख र घाटी समेत च्यापेर मारेको,मृतकको शव निज नवीनले आफै बोकेर बाहिर लगि तुलसीले लगाएका सुन र चाँदीका गहना निकाली उक्त शव घर नजिकैको पानीको नालामा फालेको अनुसन्धानबाट खुल्न आएको डिएसपी चन्दले बताए ।
नवीनले मृतक तुलसीले लगाएका सुन र चाँदीका गहना प्लाष्टिकको झिल्लीमा पोको पारी घर नजिकै ढुंगा मुनि राखेको तथ्य प्रारम्भीक अनुसन्धानमा खुल्न आएको तथा शनिबार निज नवीन नाथले लुकाइछिपाई राखेको गरगहना बरामद गरिएको उनले बताए । सामान्य घरायसी विवादका कारण हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । मृतक तुलसी सुत्केरी थिइन् । उनले हत्या भएको १६ दिनअघि मात्रै छोरालाई जन्म दिएकी थिइन् ।













