धनगढी । अछाममा कर्तव्य ज्यान मुद्धाका फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको रामारोशन गाउँपालिका–६ बस्ने ३६ वर्षीय झपड साउँद र ३४ वर्षीय कुले साउँद रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) ईश्वरीप्रसाद भण्डारीका अनुसार २०७८ कार्तिक २१ गते रामारोशन गाँउपालिका– ६ रम्तडादेखि टुडिसैन जाने बाटो बीच सालघारीमा सोही ठाउँ बस्ने गगन साउँदलाई कर्तव्य गरी मारेको मुद्दामा उनीहरु भागी फरार रहेका थिए ।
खोजतलास गर्ने क्रममा प्रहरी चौकी सान्तडाबाट खटिएको प्रहरी टोलीले आईतबार रामारोशन–६ स्थित भाटाकाटियाबाट उनीहरुलाई नियन्त्रणमा लिएको डिएसपी भण्डारीले जानकारी दिए । पक्राउ गरिएका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय अछाममा ल्याइ थप अनुसन्धान भइरहेको जनाइएको छ ।













