धनगढी । कैलालीको चुरे गाउँपालिकाको न्यायिक समिति प्रभावकारी बन्दै गएको छ । न्यायिक समितिले सानातिना मुद्धाहरु मेलमिलाप गर्न थालेपछि समितिको प्रभावकारिता बढ्दै गएको हो ।
पालिकाको न्यायिक समितिले चालु आवमा दर्ता भएका १२ वटा मुद्धामध्ये ७ वटा मुद्धा भएको गाउँपलिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक धनादेवी थापामगरले बताइन् ।
त्यस्तै चालु आवमा ३ वटा मुद्धा बाँकी रहेको,एउटा ढिसमिस भएको र एउटा मुद्धा अदालती प्रकृयामा गएको उनले बताइन् ।
त्यस्तै अघिल्लो आव २०८०/८१ मा २५ वटा मुद्धा दर्ता भएकोमा १७ वटा मेलमिलाप भएको र २०७९/८० मा २७ वटा मुद्धा दर्ता भएकोमा १७ वटा मुद्धा मेलमिलाप गरिएको उनले बताइन् ।
न्यायिक समितिमा प्राय सीमा विवाद,श्रीमान/श्रीमति झगडा,लेनदेन,कामको भुक्तानी नपाएका मुद्धाहरु आउने गरेको उनले बताइन् । उनले भनिन् ‘प्रायः मुद्दाहरु मेलमिलापकर्ताले मेलमिलाप गर्ने गरेको छ र त्यहाँ मिल्न नसके न्यायिक समितिमा मिलाउँछौँ ।’
चुरे गाउँपालिका भौगोलिक हिसावले विकट भएका कारण र मेलमिलापकर्ता कम भएका कारण समस्या हुने गरेको उनले बताइन् । उनले भनिन् ‘पीडित पक्षले तुरुन्तै न्याय खोज्छन् । तुरुन्तै काम गर्न यहाँ अप्ठ्यारो छ । एक ठाउँबाट अर्को ठाउँ जान धेरै समय लाग्छ ।’
लेनदेनको मुद्धामा दुबै पक्ष सम्पर्कमा ल्याउन समस्या हुने गरेकाले तुरुन्त मिलाउन गाह्रो हुने गरेको उनको भनाइ छ । सेवालाई प्रभावकारी र छिटोछरितो बनाउने प्रयास जारी रहेको बताउँदै उनले अन्य प्रदेशका पालिकाहरुमा गएर त्यहाँको न्यायिक समितिसँग अनुभव साँटासाँट गर्ने गरेको उनले बताइन् ।
उनले भनिन् ‘हामी कर्णालीको सुर्खेतका बराहाताल गाउँपालिका र बुर्कोट नगरपालिकामा गएर त्यहाँको न्यायिक समितिले दिएको सेवाका बारेमा बुझेर पनि आएका छौँ । त्यहाँको अनुभव आगामी आवमा हामी यहाँ लागु गर्ने छौँ । त्यसले केही सहज हुने छ ।’ त्यस्तै, उनले पालिकासँग कानुनी अधिवक्ता नहुँदा पनि समस्या भएको बताइन् ।















