धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम धेरै सम्भावना भएको बताएका छन् । नेपाल उद्योग परिसङ्घ सुदूरपश्चिम प्रदेश समितिले शुक्रबार धनगढीमा आयोजना गरेको प्रदेश कार्यालय उद्घाटन तथा पदस्थापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘निजी क्षेत्रलगायत सबैलाई भन्न चाहान्छु सुदूरपश्चिममा धेरै सम्भावनाहरु छन् । प्रदेश सरकार लगानीमैत्री वातावरण बनाउन चाहान्छ । यहाँहरुको सुरक्षाको ग्यारेन्टी हामी लिन्छौँ भन्ने हिसावले प्रदेश सरकार अगाडि बढ्न खाजेको छ ।’
उनले लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकारले प्रकृया,छलफल अगाडि बढाएका बताए । उनले प्रदेश सरकारले विभिन्न सङ्घ/संस्थालाई जोडेर अगाडि बढ्न चाहेको बताए ।
उनले निजी क्षेत्रको अनुभवसमेत सरकारले प्राप्त गर्न जरुरी रहेको बताउँदै निजी क्षेत्रलाई साझेदारीका साथ अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै परिसङ्घका केन्द्रीय अध्यक्ष राजेशकुमार अग्रवालले परिसङ्घले नेपाली उत्पादित बस्तु स्वदेशी तथा विदेशी बजारमा पु¥याउन सहयोग गर्दै आएको बताए ।
परिसंघको आजै रमणचन्द्र श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय सुदूरपश्चिम प्रदेश समिति गठन भएको जनाइएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा तेजशंकर भट्ट, उपाध्यक्षमा सुनिल श्रेष्ठ,सुनिता सुरी,कोषाध्यक्षमा लालबहादुर शाही चयन भएका छन् । समितिको सदस्यहरुमा दीप रावत, हेमन्त पौडेल, हिरा भण्डारी, जगदीशचन्द्र भट्ट, डिल्लीराज जोशी र कलेन्द्र शाही रहेका छन् । कार्यक्रममा नयाँ समितिको सपथ तथा पदस्थापन गरिएको थियो ।















