धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार मुक्त कमैया,कम्लरी र हलियाको पुनःस्थापना कार्यविधि पूर्णरुपमा कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताएका छन् ।
मुक्त कमैया महिला विकास मञ्चले शुक्रबार धनगढीमा आयोजना गरेको २५औं कमैया मुक्ति दिवस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘प्रदेश सरकारले कमैया,कम्लरी र हलियाको पुनःस्थापना कार्यविधि २०८० तयार भएको छ । कार्यविधि कार्यान्वयनका पाटो निरन्तर अगाडि बढेको छ । यो कार्यविधि कार्यान्वयन गर्ने सन्दर्भमा प्रदेश सरकार प्रतिबद्ध छ ।’
उनले थारु रानाथारु समुदायमा रहेको बरघर भल्मन्सा प्रथालाई कानूनी मान्यता दिन विधेयक ड्राफ्ट गरेर मन्त्रीपरिषद्बाट पास गरेर सदनमा पु¥याएको र सदनबाट पास हुने विश्वास व्यक्त गरे ।
मुक्त कमैया,कम्लरी हलियालाई रोजगारसँग जोड्न प्रदेश सरकारले काम गरिरहेको बताउँदै उनले मुक्त कमैया,कम्लरी हलियालाई बालबालिकालाई छात्रवृतिको कार्यक्रम समेत अगाडि बढाएको बताए ।
जमिनदारको घरमा बँधुवा मजदुरका रूपमा काम गर्दै आएका कमैयालाई तत्कालीन सरकारले २०५७ साउन २ गते मुक्त भएको घोषणा गरेको थियो ।
कमैया मुक्तिको घोषणापछि सरकारले पुनःस्थापना अगाडि बढाए पनि त्यसले पूर्णता पाउन सकेको छैन । सुदूरपश्चिम प्रदेशमा १ हजार ८२ र लुम्बिनी प्रदेशमा एक हजार २९३ गरी २ हजार ३७५ मुक्त कमैयाको अझै पुनःस्थापना हुन नसकेको मुक्त कमैया महिला विकास मञ्चले जनाएको छ ।















