धनगढी । कैलालीको धनगढीस्थित हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिक साधारणसभाको उद्घाटनसत्र सम्पन्न भएको छ । सहकारीको शनिबार धनगढीमा सुरुभएको वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
साधारण सभाको उद्घाटनसत्रमा संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
संस्थाका व्यवस्थापक महेन्द्र शाहीले संक्षिप्त विवरणसहितको प्रतिवेदन पेश गर्दै गत आव.२०८०/०८१ मा कुल सम्पत्ति रु.७५ करोड २८ लाख ५३ हजार रहेकोमा आव२०८१/०८२ मा रु.१३ करोड १८ लाख २६ हजारले वृद्धि भै रु.८८ करोड ४६ लाख ८० हजार रहेको,आव २०८०/०८१ मा संस्थाको शेयर पुँजी रु.४ करोड २ लाख २१ ह्जार रहेकोमा आव २०८१/०८२ मा वृद्धि भइ रु.४ करोड ६६ लाख ३४ हजार रहेको बताए । जुन अघिल्लो आवभन्दा गत आवमा १५.९५ प्रतिशतले वृद्धि भएको उनले बताए ।
त्यस्तै आव २०८०/०८१ मा संस्थाको कुल बचत निक्षेप रु. ५० करोड २३ लाख ५९ हजार रहेकोमा आव ०८१/०८२ वृद्धि भइ रु.६१ करोड ९० लाख २५ हजार कायम भएको उनले जानकारी दिए । उनले आव २०८१/८२ मा संस्थाको कुल आम्दानी रु.३ करोड ९५ लाख ३२ हजार रहेको बताए ।
यस्तै, २०८१/०८२ को मसान्तमा नगद र बैंक मौज्दात रु.१५ करोड ३० लाख २० हजार भई संस्थामा २४.७२ प्रतिशत तरलता कायम रहेको उनले जानकारी दिए ।
कार्यक्रममा लेखा समिति सदस्य खेमराज अवस्थीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सहकारी क्षेत्रमा कलम चलाए बापत पत्रकार टंक कुँवर नगदसहित सम्मानित भएका थिए
साधारण सभाको उद्घाटनसत्रको सञ्चालन संस्थाका सचिव विमल जोशीले गरेका थिए । साधारण सभाको उद्घाटनसत्रमा हिमशिखर सहकारी संस्था लिमिटेडका सबै शाखाका कर्मचारी शेयर सदस्य ,ऋणी लगायत हिमशिखर सहकारीमा आबद्ध सरोकारवाला सबैको उल्लेखनीय उपस्थिति रहेको थियो ।
यो चुनावी साधारणसभा भएकाले संस्थाको नयाँ कार्यसमिति चयन हुने जनाइएको छ ।















