धनगढी । विज्ञान–प्रविधि, खेलकुद, कला–संस्कृति, सृजनशीलता र मनोरञ्जनको समन्वयमार्फत ज्ञानको जागरण, संस्कृतिको सम्मान र नवप्रवर्तनको प्रवाह फैलाउने उद्देश्यसहित दोस्रो चैतन्य विद्यार्थी महोत्सव २०८२ आजदेखि धनगढीमा सुरु भएको छ। ।
पुस २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा विद्यार्थीहरूको शैक्षिक, बौद्धिक, वैज्ञानिक, सिर्जनशील तथा सांस्कृतिक प्रतिभा उजागर गर्ने विभिन्न कार्यक्रमहरू समावेश गरिएका छन् । वज्ञान प्रदर्शनी, नवप्रवर्तनात्मक प्रस्तुति, खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा विविध सिर्जनात्मक गतिविधिहरू महोत्सवका प्रमुख आकर्षण रहेका छन् ।
प्रदेश प्रमुख नजिर मियाँले गरेको उद्घाटन समारोहमा प्रदेशसभा सदस्य धर्मराज पाठक र धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकलाकुमारी राना विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डाक्टर लोकबहादुर बिष्ट पनि विशिष्ट अतिथि रहेका थिए ।
चैतन्य पाठशालाका अभिभावक शिक्षक संघका अध्यक्ष ईश्वर गिरीको अध्यक्षतामा सुरु भएको कायक्रममा चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले पाठशाला आविष्कार र नवप्रवर्तनमा आधारित शिक्षालाई आत्मसात गर्दै अघि बढिरहेको उल्लेख गरे ।
विद्यार्थीहरूको बृहत्तर सिकाइका अवसर सृजना गर्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सवले पाठशालामा अध्ययनरत विद्यार्थीहरूको सीप, क्षमता र आत्मविश्वास अभिवृद्धि गर्ने महत्वपूर्ण मञ्चका रूपमा भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
महोत्सवको अवसरमा चैतन्य पाठशालाले सामाजिक, सेवा, सुरक्षा तथा शिक्षा क्षेत्रमा योगदान पु¥याउँदै आएका विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत गरेको छ ।
धनगढी–५ शिवनगरमा अवस्थित चैतन्य पाठशालले गत वर्षदेखि विद्यार्थी महोत्सव गर्न थालेको हो । महोत्सवमा चैतन्य पाठशालासहित अन्य विद्यालयका विद्यार्थीहरूको समेत सहभागिता रहने विद्यालयले जनाएको छ ।















