धनगढी । हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा कैलारी गाउँपालिकालाई डस्टबिन वितरण गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ प्रवर्धन गर्ने उद्देश्यले डस्टबिन वितरण गरेको हो ।
डस्टबिन वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, वडा नं. ७ का अध्यक्ष दीपेन्द्रबहादुर बम,हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रोशन सिंह,उपाध्यक्ष बिमलकुमार जोशी, सचिव तिलकबहादुर बोहरा,कोषाध्यक्ष श्यामबहादुर बिष्ट, संचालक समितिका पदाधिकारी, व्यवस्थापक महेन्द्र शाही र अन्य कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
यस कार्यक्रमबाट स्वच्छ, सफा तथा स्वस्थ वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ । संस्थाले वातावरण संरक्षण तथा सरसफाइ प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाका विभिन्न सार्वजनिक स्थानमा डस्टबिन वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष रोशन सिंहले स्वच्छ र सफा वातावरण निर्माणमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए । संंस्थाका धनगढी, अत्तरिया, बढैपुर, हसुलिया शाखामा पनि वार्षिकोत्सव कार्यक्रम मनाईएको प्रमुख प्रशासन सहायक मोहन सिंंहले बताए ।













