डोटी । डोटीमा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको आदर्श गाउँपालिका–१ बाँझकी २३ वर्षीया मुना श्रीमाललाई बिहिबार उद्धार गरी कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहीबार बिहान ८ महिनाकी गर्भवती श्रीमाललाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि सुजङ अस्पताल राजपुर लगिएको थियो ।
अस्पतालमा उपचारका क्रममा बच्चा मृत अवस्थामा जन्मिएको र आमा बेहोस भई स्वास्थ्य अवस्था जटिल बनेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पहलमा हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।













