धनगढी । कारागारबाट भागेका कैदीबन्दी फरार रहँदा सुरक्षा चुनौति थपिँदै गएको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कैलाली कारागारबाट भागेका कैदीबन्दी अझै कारागार नआउँदा सुरक्षा चुनौति थपिँदै गएको हो ।
कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार रहेका कैलाली कारागार प्रमुख चिरञ्जीवी सापकोटा जानकारी दिए । जेनजी प्रदर्शनका क्रममा भागेका ६६५ कैदीबन्दीमध्ये हालसम्म ४३८ जना मात्रै कारागार फर्किएका उनले जानकारी दिए । फर्किएका मध्ये ४० जना महिला र ३९८ जना रहेको उनले जानकारी दिए ।
उनका अनुसार १ जना कैदीबन्दीले भने फरार रहेकै अवस्थामा आत्महत्या गरेको छन् । फरार रहेकामध्ये १९ जना भारतीय नागरिक रहेका उनले बताए ।
कैलाली कारागार सो समयमा कारागारमा ६६७ जना कैदीबन्दी रहेकामा जेनजी आन्दोलनका क्रममा ६६५ जना कैदीबन्दी भागेका कारागार प्रशासनले जनाएको छ ।
फर्किएका कैदीबन्दीमध्ये ३६० जना आफै सम्पर्कमा आएका, ६६ जनालाई प्रहरीले पक्राउ गरि बझाएको तथा १२ जनाले अन्य कारागारमा आत्मसमर्पण गरेको कारागार प्रशासनले जनाएको छ ।
फरार रहेका कैदीबन्दीको प्रहरीले खोजी तीब्र पारेको कारागार प्रमुख सापकोटाले बताए ।













