धनगढी । कैलालीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार धनगढीस्थित स्वास्थ्य तालिम केन्द्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
कार्यालय स्थापना कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाले निर्वाचन आयोगले दिएको कार्यतालिका अनुसार निर्वाचन कार्यक्रम अगाडि लिएर जाने बताए ।
उनले माघ ६ गते प्रतिनिधिसभा सदस्यको मनोनयन दर्ता कार्यक्र रहेको बताउँदै निर्वाचन आयोगको कार्यतालिका अुनसार आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने गरि तयारी भइरहेको बताए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले यो जिल्लाको शान्ति सुरक्षको सन्दर्भमा सुरक्षा योजना अनुसार नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरि सबै सुरक्षा निकायलाई परिचालन गर्ने तयारी भइरहेको बताए ।
उनले समग्र प्रदेशलाई नै सहयोग पुग्ने गरि सुरक्षाको व्यवस्थापन गर्न प्रदेशसँग समन्वय गरेर अगाडि बढिरहेको बताए ।
शान्ति सुरक्षाकातर्फबाट मतदाता,उम्मेदवार,निर्वाचन कार्यालयलगायत सबैलाई शान्ति सुरक्षाको पूर्ण अनुभूति हुने गरि व्यवस्थापन भइरहेको उनले बताए ।
प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले आज नै प्रदेशका १६ वटै प्रतिनिधिसभाका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय हुने बताए ।
उनले निर्वाचनका सामग्री प्राप्त गर्न,व्यवस्थित गरेर राख्ने,निर्वाचन अधिकृतलाई चाहिने निर्देशिका नियम,ऐन,कानुनहरु,अन्य मतदानमा पठाउने सामग्री तयारी अवस्थामा राखिसकिएको उनले बताए । उनले आज पनि १६ वटै निर्वाचन क्षेत्रमा सम्बन्धित सामग्री पठाइएको उनले बताए ।















