धनगढी । उज्यालो नेपाल पार्टीका कैलाली क्षेत्र नं. ४ का उम्मेदवार सुवास कुँवरले युवा वर्गलाई विदेश जान बाट रोक्ने आफ्नो चुनावी एजेन्डा रहको बताएका छन् ।
सो पार्टीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो चुनावी घोषणा पत्र समार्वजनिक गर्दै यूवालाई कृषि र व्यापारमा आत्मनिर्भर बनाउने बताए ।
जातीय तथा क्षेत्रीय विभेद र द्वन्द्वलाई न्यूनिकरण गर्ने सामाजिक मेलमिलाप र एकताको सन्देश दिने आफ्नो योजना रहेको बताए ।
उनले भने ‘महिला तथा सिमान्त समुदायको पछौटेपनलाई न्यूनिकरण गरि आत्मनिर्भर हुन सीपमूलक कार्यक्रम र बजारीकरण गर्न स्थानीय सरकारलाई जोड्ने मेरो योजना छ ।’
बाढी पहीरो जस्ता प्राकृतिक प्रकोपबाट विस्थापित जनतालाई स्थायीरुपमा वसोवास गराउन पहल गर्ने,सुकुम्वासी र अव्यवस्थित वसोवास भएको प्रमुख समस्यालाई पूर्ण रुपमा समाधान गर्ने चुनावी एजेन्डा रहेको उनले बताए ।प्रत्येक नगरपालिकामा एक कोल्ड स्टोर, चाइल्ड केयर र प्रसोधन केन्द्र स्थापना गर्ने उनले बताए ।
चुरे क्षेत्रमा फलफुल र कृषि पेसामा लागेका युवा व्यवसायीलाई आधुनिकीकरण गर्दै आत्मनिर्भर हुने योजना बनाउने उनले बताए ।
चुरे क्षेत्रलाई कृषि तथा पर्यटनसँग जोड्न पूर्वाधारको विकासमा जोड,वाटो, खानेपानी, शैक्षिक सुविधाको विकासमा आफ्नोे विशेष जोड रहने उनले बताए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सो क्षेत्रमा कुँवरसहित १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।















