धनगढी । नेपाली कम्युनिस्ट पार्टीले चुनावी प्रचारप्रसारलाई तीब्रता दिएको छ ।
सो पार्टीले कैलाली क्षेत्र नं ५ का विभिन्न वडाहरुमा चुनाव प्रचार प्रसार समिति गठन गरि चुनावी अभियानलाई तीब्र बनाउन थालेको हो ।

सोही क्रममा आज धनगढी उपमहानगरपालिका-१४ फूलबारीमा कृष्णराज गिरी संयोजक र रामबजारी चौधरी सहसंयोजक रहेको ३५ सदस्यीय वडास्तरीय प्रचारप्रसार समिति गठन गरेको छ ।
त्यस्तै,विभिन्न १२ वटा टोल कमिटी गठन गरेको जनाइएको छ ।
सोही कार्यक्रममा बोल्दै नेपाली कम्युनिस्ट पार्टी नेता कैलाली क्षेत्र नं ५ का उम्मेदवार प्रेमबहादुर आलेले विकास नै आफ्नो पहिलो प्राथमिकता भएको बताए ।

उनले यहाँको विकासका लागि आफू चुनाव लड्न डोटीबाट कैलाली आएको बताए ।
उनले आफूले डोटीबाट तीन पटक चुनाव जितेर थुप्रै विकासका काम गरेको स्मरण गर्दै अब कैलाली क्षेत्र नं ५ को विकासमा ध्यान रहने बताए ।
पूर्वमन्त्री समेत रहेका आलेले कोरोनाकालमा व्यक्तिगत लगानीमा विभिन्न अस्पतालमा अक्सिजन सिलिन्डर वितरण गरेको बताउँदै जनपक्षीय काममा जोड दिदै आएको बताए ।
उम्मेदवार आलेले आज नै धनगढी-१८ र १९ नं वडाका पार्टीका नेता कार्यकर्ता संग समेत भेटघाट गरेका छन ।
उम्मेदवार आलेसँगै पार्टीका नेता ओमप्रकाश पुन,दिनेश सुवेदी,रमेश धामी,सुशीला बुढाथोकी,नरबहादुर शाह ‘निर्मल’लगायतको सहभागिता रहेको थियो ।













