धनगढी । राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत मतदान जारी रहेको छ। बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने छ। सुदूरपश्चिम निर्वाचन कार्यालय परिसरमा मतदानस्थल राखिएको छ ।
सुदूरपश्चिमबाट राष्ट्रियसभाका २ पदका लागि ४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । खुलातर्फ नेपाली कांग्रेसबाट खम्मबहादुर खाती र नेपाली कम्युनिस्ट पार्टीका टीकाराम जैशी तथा महिलातर्फ नेकपा एमालेबाट लिलाकुमारी भण्डारी र नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेत सुनार उम्मेदवार बनाएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन रहेकाले यी दुई दलका उम्मेदवारको जित लगभग निश्चित देखिएको छ । यसअघि निर्वाचित शारदा भट्ट र तारामान स्वारको कार्यकाल सकिएपछि नयाँ निर्वाचन हुन लागेको हो ।
राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिमका ५३ प्रदेशसभा सदस्यमध्ये ५१ जनाले मतदान गर्नेछन् । प्रदेशसभा सदस्य दीर्घ सोडारी भ्रष्टाचार काण्डका कारण निलम्बनमा परेका छन् भने डाक्टर तारा जोशी प्रतिनिधिसभा सदस्यका उम्मेदवार भएकाले मतदानमा सहभागी नहुने भएका छन् ।
यस्तै, प्रदेशका ८८ स्थानीय तहका १७६ प्रमुख÷उपप्रमुख,अध्यक्ष उपाध्यक्ष १७३ जनाले मात्रै मतदान गर्न पाउने सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिए ।













