धनगढी । कञ्चनपुर र कैलालीबाट अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ कलौनी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित सोही नगरपालिका-६ सिहपुर बस्ने ३१ वर्षीय जनक चौधरी र सोही नगरपालिका-४ बस्ने ३० वर्षीय देबेन्द्र ओडलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ ।
त्यस्तै,कैलालीको गोदावरी नगरपालिका-५ वेलाजाने सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १४० मिलिग्राम सहित धनगढी उपमहानगरपालिका- ११ बस्ने १९ वर्षीय प्रेम योगीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



















