धनगढी । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले कैलालीस्थित लम्कीचुहा प्रादेशिक अस्पताल प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बन्न नदिएको आरोप लगाएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त अस्पताल बनाउनका लागि सर्वोच्च अदालतले समेत आदेश दिएपनि प्रदेश र स्थानीय सरकार काँग्रेसको भएकाले अवरोध गरिरहेको जिकिर गरे ।
उनले भने ‘लम्कीचुहा अस्पतालका कर्मचारीलाई त्यहाँको स्थानीय सरकारले गालीगलौज गरेको दृश्य सामाजिक सञ्जालमा आईरहँदा त्यहाँ गालीबेइज्जत भइरहन्छ, आइरहन्छ । तर यो संचालनका लागि प्रतिपक्ष बेञ्चमा बसेको नेपाली काँग्रेसमाथि ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले भने, ‘यहाँ सदनमा तपाईंहरू पटक पटक सरकारले यो गरेन, त्यो गरेन आफूहरु बेन्चमाथि उठनु हुन्छ, तर तपाईकै स्थानीय तहको बनेको सरकार र प्रदेश सरकारले लम्कीचुहा अस्पतालमाथि गरेको अन्यायलाई तपाईहरूले कहिले सदनमा बोल्नु हुन्छ । तपाईहरू सधै सरकारले यो गरेन, उ गरेन भन्नु हुन्छ । तपाईहरूको पार्टीले बनाएको स्थानीय सरकारले काम गर्ने कर्मचारीमाथि गालीगलौज गर्दा कहाँ छ नेपाली कांग्रेस ? म यहाँ कांग्रेसलाई खोज्न चाहान्छु ।’













