धनगढी । कैलालीबाट लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको गोदावरी नगरपालिका-१ अत्तरियास्थित धनगढी रोडमा रहेको ममता सेकुवा सेन्टरमा आइतबार दिउँसो छापा मारेर इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरको संयुक्त टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका-३ का ४५ वर्षीय शंकरकुमार शाही र कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ का ५२ वर्षीय मीनराज भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
प्रहरीले उनीहरूको साथबाट २ किलो २०५ ग्राम चरेस बरामद गरेको जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













