धनगढी । कञ्चनपुर र कैलालीबाट लागूऔषधसहित ५ जना पक्राउ परेका छन ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ नयाँबस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ३० ग्राम ९३० मिलिग्राम सहित ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-२ बस्ने ४० वर्षीय लालबहादुर सुनार, ३१ वर्षीय हेमराज जोशी,बेतकोट नगरपालिका-७ दैजी बस्ने ३१ वर्षीय बिमल पाण्डे र कैलालीको धनगढी उपमहानगरपालिका-५ तारानगर बस्ने २५ वर्षीय अशोक पाण्डे रहेका छन् ।
लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट बाणीबाट संयुक्त रुपमा खटिएको प्रहरीले निजहरुलाई बि.ए.ए. १३५१ नम्बरको स्कारपियो समेत फेला पारि स्कारपियो र उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ ।
त्यस्तै,कैलालीको लम्कीचुहा नगरपालिका-१ थकालिपुरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय ललित राना क्षेत्रीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













