धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री चक्र मल्लले प्रदेशको समग्र विकास र जनताको आवश्यकतालाई केन्द्रमा राखेर बजेट विनियोजन गर्ने बताएका छन्।
विभिन्न क्षेत्रबाट योजना माग गर्नेको भीड देखिए पनि विगतकै शैली र प्रवृत्तिलाई निरन्तरता नदिई आवश्यकता, औचित्य र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न आफू सजग रहेको मन्त्री मल्लको भनाइ छ।
निशाना न्युजसँग कुरा गर्दै मन्त्री मल्लले भने ‘सीमित स्रोत-साधनलाई अधिकतम सदुपयोग गर्दै प्रदेशका वास्तविक आवश्यकता र प्राथमिकताका योजनालाई बजेटमा समेट्छौँ ।’
उनले पहुँच र दवाबका आधारमा भन्दा जनताको प्रत्यक्ष लाभ हुने तथा प्रदेशको दीर्घकालीन विकासमा योगदान पुर्याउने योजनालाई प्राथमिकता दिने स्पष्ट पारे।
सुदूरपश्चिमको विकासमा क्षेत्रीय सन्तुलन कायम गर्नुपर्नेमा जोड दिँदै मन्त्री मल्लले प्रदेशका सबै भूगोललाई समान प्राथमिकतामा राखेर बजेट निर्माण गरिने बताए।
‘योजना माग्नु स्वाभाविक हो, तर बजेट विनियोजन गर्दा आवश्यकता र प्राथमिकतालाई मुख्य आधार बनाउँछौँ,’ मन्त्री मल्लले भने, ‘कुनै क्षेत्र वा पहुँचका आधारमा होइन, प्रदेशको आवश्यकता र जनताको हितलाई केन्द्रमा राखेर बजेट विनियोजन हुन्छ।’
प्रदेशमा वर्षौंदेखि दोहोरिँदै आएका योजना छनोट र बजेट वितरणका प्रवृत्तिमा सुधार गर्दै उत्पादन, रोजगारी, पूर्वाधार तथा सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पार्ने योजनालाई प्राथमिकता दिने मन्त्री मल्लको भनाइ छ।














