धनगढी । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण त्रिशूलीको थ्री–ए जलविद्युत् आयोजनाको सुरुङमा काम गरिरहेका कैलालीका १३ जना कामदारले भागेर ज्यान जोगाएका छन् ।
भजनी नगरपालिका–१ का २५ वर्षीय सन्तोष चौधरीसहित कैलालीका विभिन्न स्थानीय तहबाट आयोजनामा काम गर्न गएका उनीहरू बाढी आएको थाहा पाएपछि सुरुङबाट हतार–हतार बाहिर निस्किएर उच्च भू–भागमा पुगेका थिए ।
सन्तोष आयोजनाको सुरुङभित्र सरिया (फलामे डण्डी) मिलाउने काम गर्दै आएका थिए । उनी आयोजनामा काम गर्न गएको एक महिना १० दिन मात्रै भएको थियो ।
भदौ १० गते बिहान सुरुङभित्र काम गरिरहेका बेला एक्कासि ठूलो हावाहुरी चलेको जस्तो आवाज आएपछि उनीहरूसँगै काम गर्ने एक जना चिनियाँ नागरिक ‘के भएको रहेछ, म हेरेर आउँछु’ भन्दै गाडी लिएर बाहिर निस्किए । केहीबेरपछि उनले माथिबाट ठूलो बाढी आउँदै गरेको भन्दै सुरुङभित्र रहेका कामदारलाई खबर गरे ।
बाढी आउँदै गरेको खबर पाएपछि सन्तोषसहित सुरुङभित्र रहेका कामदारहरू ज्यान जोगाउन बाहिर निस्किए । उनीसँगै करिब ४० जनाको टोली सुरुङबाट बाहिर निस्किएको थियो ।
‘सुरुङभित्र धेरै जना काम गरिरहेका थियौँ । कति जना थियौँ भन्ने यकिन भएन । बाहिर बाढी आउँदै गरेको खबर पाएपछि हतार–हतार निस्कियौँ,’ सन्तोषले भने ।
सुरुङबाट बाहिरिएपछि उनीहरू उच्च भू–भागतर्फ भागे । उनीहरूसँगै काम गर्ने चिनियाँ नागरिकले पनि डेरातिर नजान र अझै माथि चढ्न सचेत गराएका थिए । ‘अझै नदी बढ्छ, माथि–माथि चढ’ भन्दै उनले आफूहरूलाई सचेत गराएको सन्तोषले बताए ।
बाढी केही शान्त भएपछि मात्रै उनीहरू डेरामा फर्किएका थिए । उनीहरू बसेको कोठामा भने क्षति नभएको उनले बताए । तर, आसपासका बैंक, कम्पनीका कार्यालय तथा धेरै घरहरू नदीको बाढीले बगाएको उनले बताए ।
बाढी आएपछि दिनभर मोबाइल नेटवर्कसमेत अवरुद्ध भएको थियो । जसका कारण उनीहरूले परिवारलाई आफू सकुशल रहेको खबरसमेत दिन सकेनन् । रातभर डर र त्रासमै बिताएको सन्तोषले बताए ।
भदौ ११ गते उनीहरू उद्धारका लागि हेलिकप्टर आउने आशामा फेरि सबैभन्दा अग्लो डाँडामा पुगे । तर, लामो समयसम्म हेलिकप्टर नआएपछि उनीहरू कम्पनी रहेको स्थानतर्फ फर्किए । पछि नेपाली सेनाको हेलिकप्टर आएपछि उनीहरूको उद्धार गरिएको थियो । उनीहरूलाई सेनाको क्याम्पमा लगिएको थियो ।
‘हामी सबै कैलालीबाट काम गर्न सँगै गएका टोलीका हौँ । हामीमध्ये कसैलाई केही भएन । ज्यान बचाएर भाग्यौँ,’ सन्तोषले भने ।
सन्तोषका अनुसार भजनी नगरपालिका–१ को एउटै गाउँबाट मात्रै पाँच जना आयोजनामा काम गर्न गएका थिए । टीकापुर, जानकी र भजनीका विभिन्न वडाबाट गरी कैलालीका १३ जना त्यहाँ काम गरिरहेका थिए । उनीहरूमध्ये अधिकांश सकुशल फर्किएका छन् ।
भदौ १२ गते राति सेनाको क्याम्पमा उनीहरूलाई खाना र बस्ने व्यवस्था गरिएको थियो । भदौ १३ गते सेनाले बसमार्फत उनीहरूलाई काठमाडौं पठाएको थियो । काठमाडौं पुगेपछि भदौ १४ गते उनीहरूलाई घर फर्किन जनही पाँच हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइएको थियो ।
त्यसपछि कैलाली फर्किएका सन्तोषसहित एउटै गाउँका पाँच जनाको टोली भदौ १५ गते सोमबार घर पुगेको छ । अटोमा गाउँ पुग्दा गाउँले तथा परिवारका सदस्यले खुसी हुँदै स्वागत गरेको सन्तोषले बताए । ‘हामी बाँच्न सफल भयौँ। नयाँ जीवन लिएर घर फर्किएका छौँ,’ उनले भने ।
उनीसँगै भजनी नगरपालिका–१ का सरोजकुमार चौधरी, लक्ष्मण डगौरा, आकाश डगौरा, सुधराम थारु, भजनी नगरपालिका–८ का रामस्वरूप चौधरी, टीकापुर नगरपालिका–१ का बालकृष्ण चौधरी, भजनी नगरपालिका–१ का प्रेमबहादुर डगौरा र जानकी गाउँपालिका–७ का छुनुकराम डगौरालगायत पनि सकुशल घर फर्किएका छन् ।
उनीहरूमध्ये आकाश डगौराले केही क्षण ढिला भएको भए अवस्था निकै भयावह हुनसक्ने बताए । ‘केही क्षण ढिला भएको भए अवस्था अर्कै हुन सक्थ्यो,’ उनले भने । सकुशल घर फर्किएपछि परिवारमा खुसी छाएको छ ।
यद्यपि, त्रिशूली बाढीपछि सुदूरपश्चिमका धेरै परिवारको प्रतीक्षा अझै सकिएको छैन । सुदूरपश्चिमका एक सय ४० भन्दा बढी मानिस अझै सम्पर्कविहीन रहेको बताइएको छ । उनीहरूका आफन्तले खोजी तथा उद्धारका लागि सम्बन्धित निकायमा दैनिक सम्पर्क गरिरहेका छन् ।
प्रहरीका अनुसार आइतबारसम्म सुदूरपश्चिमका ३६ जना सम्पर्कमा आएका छन् । तीमध्ये कैलाली र कञ्चनपुरका ३५ जना तथा डडेल्धुराका एक जना रहेका छन् ।






















