धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका-५ स्थित सुन्दरनगर टोल विकास समितिले भोटेकोशी बाढी प्रभावित परिवारका लागि अति आवश्यक खाद्यान्न तथा राहत सामग्री सहयोग गरेको छ।
समितिले सामुहिक सहयोगबाट रु. १ लाख ४ हजार ३ सय २० बराबरको खाद्यान्नलगायतको राहत सामग्री सहयोग गरेको हो ।
धनगढीस्थित चैतन्य पाठशाला,टोलबासी तथा सहयोगी दाताको सहयोगमा चामल,दाल, नुन, तेल, बिष्कुट, चाउचाउ, चिउरा,लत्ताकपडा लगायत तत्काल आवश्यक पर्ने राहत सामग्री संकलन गरिएको टोल विकास समितिका अध्यक्ष मीनबहादुर धामीले जानकारी दिए ।
संकलित उक्त राहत सामग्री मंगलबार धनगढी उपमहानगरपालिका-५ का वडा अध्यक्ष गजेन्द्र शाहीलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
अध्यक्ष धामीले बाढी प्रभावित परिवारको दुःखमा मलम लगाउने कार्यमा सहयोग गरेकोमा चैतन्य पाठशाला, सम्पूर्ण टोलवासी तथा सहयोगी दाताहरूमा धन्यवाद व्यक्त गरे ।
उनले संकलित राहत सामग्री छिटोभन्दा छिटो प्रभावित परिवारसम्म पुग्ने विश्वास व्यक्त गरे ।






















