धनगढी । कैलाली जिल्ला अदालतले गत आव २०८२/८३ मा तीन हजार एक सय ५ मुद्धा फर्छ्यौट गरेको छ ।
अघिल्लो आव २०८१/८२ मा जिम्मेवारी सरेका मुद्धा १ हजार ३०५ र गत आर्थिक वर्षमा दर्ता भएका तीन हजार तीन सय ३४ मुद्धा गरी चार हजार छ सय ३९ मुद्धा रहेकामा ६६ दशमलव ९३ प्रतिशत मुद्धा फर्छ्यौट भएका जिल्ला अदालत कैलालीका श्रेस्तेदार चेतराज पन्तले जानकारी दिए ।
उनका अनुसार गत आर्थिक वर्षमा अदालतमा एक हजार पाँच सय ३४ मुद्धा फर्छ्यौट हुन बाँकी रहेका छन् । अदालतको गत आवमा तीन हजार एक सय ८२ मुद्धा फर्छ्यौट गर्ने लक्ष्य राखेको थियो ।
अदालतमा सबैभन्दा बढी पारिवारिक विवादका मुद्धा आउने गरेको श्रेस्तेदार पन्तले बताए । उनले गत आवमा सम्बन्ध विच्छेदका ८४९ मुदा रहेकामा ६१० मुद्धा फर्छ्यौट भएका,अंशबन्डाका ८२१ मुद्धामा ५२८ ,जग्गा विवादका १०३ मध्ये ६४,लेनदेनका १०३ मध्ये ६४ र लिखत बदरका १२६ मध्ये ७८ मुद्धा फर्छ्यौट भएका उनले जानकारी दिए ।
उनका अनुसार सार्वजनिक शान्तिका ३० मध्ये ३० वटै,राज्यबिरुद्ध कसुरका ५ मध्ये ५ वटा,हातहतियारका ९ मध्ये ५ वटा,छुवाछुतका ५ मध्ये २ वटा,वहुविवाहका ४७ मध्ये ३२ वटा,कर्तब्य ज्यानका ५० मध्ये ३२,आत्महत्या दुरुत्साहनका ३५ मध्ये २०,ज्यानमार्ने उधोगका ५८ मध्ये ३१,जबरजस्ती करणीका १५९ मध्ये ९८ र हाडनाता करणीका ९ मध्ये ५ मुद्धा फर्छ्यौट भएका छन् ।
त्यस्तै,जबरजस्ती करणी उधोगका २५ मध्ये १७,लागूऔषध खैरो हेरोइनका ४५८ मध्ये ३६९,गाँजा/चरेशका २१ मध्ये २०,साधारण चोरीका १२६ मध्ये १०४,नकवजनी चोरीका ८ मध्ये ७ र बैंकिङ कसुरका ४०६ मध्ये २५३ मुद्धा फर्छ्यौट भएको उनले जानकारी दिए ।
अदालतका जिल्ला न्यायाधीश भुवनसिंह थापाले अदालतलाई डिजिटलमैत्री बनाउँदै लगिएको बताउँदै खुला इजलासको व्यवस्था गरेको बताए । उनले पुराना मुद्धालाई प्राथमिकता दिँदै मुद्धा फर्छ्यौट गर्ने गरिएको बताए ।






















