धनगढी । सुदूरपश्चिम प्रदेशमा बजेट कार्यान्वयन प्रणाली सुचारु भएको छ। प्रदेश मन्त्रालयगत बजेट सूचना प्रणाली (पीएलएमबीआईएस) खुलेसँगै बजेट कार्यान्वयन सुचारु भएको हो ।
बिहीबार प्रदेशको बजेटसम्बन्धी विधेयक आन्तरिक मामिला मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको हो। मंगलबार पारित भएको प्रदेशको बजेटसम्बन्धी विधेयक बुधबार प्रदेश प्रमुख नजिर मियाँले प्रमाणीकरण गरेका थिए ।
राजपत्रमा प्रकाशन भएपछि प्रदेश लेखा नियन्त्रक कार्यालयले प्रणाली सञ्चालनका लागि महालेखा नियन्त्रक कार्यालयलाई आग्रह गरेको थियो। महालेखाले अर्थ मन्त्रालयसँग समन्वय गरेपछि पीएलएमबीआईएस सञ्चालनमा आएको हो । प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीका अनुसार महालेखा नियन्त्रक कार्यालयले एकल खाता प्रणालीसमेत सुचारु गरिसकेको छ ।
प्रणाली सुचारु भएपछि सम्बन्धित कार्यालयले भुक्तानी आदेश लेखा नियन्त्रक कार्यालयलाई दिन थालेका तथा कर्मचारीको खातामा तलब पठाउन सुरु उनले बताए । यसअघि बुधबार नै प्रदेशको आर्थिक मामिला मन्त्रालयले बजेट कार्यान्वयनका लागि मार्गदर्शन जारी गरेको थियो । मन्त्रालयले कर्मचारीको नयाँ तलबमानसमेत सार्वजनिक गरिसकेको छ।





















