धनगढी– कैलालीमा श्रीमानको बन्चरो प्रहारबाट घाइते भएकी महिलाको मृत्यु भएको छ । जिल्लाको टिकापुर नगरपालिका-१ गणेशपुर शिबिरकी ५९ वर्षीया मुगादेवी जैशीको मृत्यु भएको हो ।
मुगाका श्रीमान ६० वर्षीय भागिरथ जैशीले गएको मंसिर २६ गते राति उनको टाउकोमा बन्चरो प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । उनको टीकापुर अस्पतालमा सामान्य उपचारपछि सोही राति कोहलपुर मेडिकल रेफर गरिएको थियो ।
आफन्तको अनुरोधमा उनलाई कोहलपुरबाट बिहीबार पुर्ख्यौली घर कैलालीको मोहन्याल-७ ज्यामिरेमा ल्याइएको थियो । घर ल्याएको भोलिपल्ट शुक्रबार घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मृतकको शनिबार टिकापुर अस्पतालमा पोस्टमार्टम गरि आफन्तलाई बुझाइएको छ भने उनका श्रीमानलाई पक्राउ गरि अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।















