बैतडी- जिल्ला प्रशासन कार्यालय बैतडीले सेवा प्रवाहमा टाइम कार्ड लागू गर्ने भएको छ। अब सेवाग्राहीले एक घण्टा भित्रै सेवा पाउने जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकर बोहराले जानकारी दिए।
सेवाग्राहीको उच्च चाप, न्यून जनशक्ति, कमजोर पूर्वाधार लगायतका अनेक चुनौतिहरूको बाबजुत कार्यान्वयनमा ल्याउन खोजिएको उक्त परीक्षण हाललाई पूर्ण कागजातसहित सम्बन्धित शाखाले रुजु गरेको एक घण्टाभित्र नै सेवाग्राहीलाई सेवा दिइने सूचना अधिकारी बोहराले बताए।
सेवाग्राहीले समेत केही नियम पालना गर्नुपर्ने छ। नागरिकता, राहादानी लगायतका जुन सेवा लिँदा पनि पर्याप्त र पूर्ण सक्कल कागजातसहित आउनुपर्नेछ।
सेवाग्राहीलाई कागजातप्रति द्विविधा भएको अवस्थामा कार्यालयका सूचना अधिकारी तथा प्रमुख जिल्ला अधिकारीसमक्ष सम्पर्क गरी सुनिश्चितत गर्नुपर्ने छ।
कार्यालयमा पुगिसेकपछि कार्यालयको नागरिक सहायता कक्षमा पूर्ण कागजातको रुजु गराई टोकन लिएर मात्रै सम्बन्धित साखामा प्रस्थान गर्नुपर्ने छ। कागजात रुजु गरेर टोकन लिएको एक घण्टाभित्रै सेवा प्रवाह गरिने छ।













