धनगढी, १ असोज । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि अघिल्लो सरकारले प्रदेश सभामा पेस गरेको बजेटका पुँजीगततर्फका आयोजना तथा कार्यक्रम हटाएर नयाँ योजना समावेश गर्ने तयारी गरेको छ ।
यो प्रदेशमा दुई महिनादेखि जारी बजेट शून्यता अन्त्य गर्न चालु आर्थिक वर्षको बजेट पुनर्लेखन गर्ने निर्णय गरेको सरकारले पुँजीगततर्फका आयोजना तथा कार्यक्रममा व्यापक हेरफेर गर्न लागेको हो ।
प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाशबहादुर रावलले अघिल्लो बजेट निर्माणमै त्रुटि भएकाले त्यसलाई संशोधन गर्न लागिएको बताए । पुँजीगत आयोजना तथा कार्यक्रमका विषयमा तत्कालीन सत्ता गठबन्धनभित्रै विवाद भएपछि सत्तापक्षले नै संशोधन प्रस्ताव दर्ता गरेको उनको भनाइ छ ।
‘बजेट निर्माणमा बेथिति भएकोले तत्कालीन सरकार ढलेर नयाँ सरकार बनेको हो,’ मन्त्री रावलले भने, ‘यसअघिकै आयोजना तथा कार्यक्रम बजेटमा कायम राख्ने कुरै छैन । पीएलएमबीआईएसमा पुँजीगततर्फका सम्पूर्ण कार्यक्रम हटाएर नयाँ इन्ट्री हुनेछ ।’
रावलका अनुसार पुराना आयोजना हटाएर सबै नयाँ आयोजना मात्रै समावेश भने गरिने छैन । केही आयोजना पुरानै बजेटबाट निरन्तरता पाउनेछन् भने तत्काल समावेश गर्नुपर्ने नयाँ आयोजना पनि बजेटमा राखिनेछन् ।
चालुतर्फका कार्यक्रम तथा खर्च शीर्षक भने पूर्ण रूपमा हटाइने छैनन् । आवश्यकताका आधारमा चालुतर्फको बजेटमा समेत परिमार्जन गरिने मन्त्री रावलले बताए ।
अघिल्लो सरकारले पारित गर्न नसकेको बजेटबाट पुँजीगततर्फका आयोजना हटाएर नयाँ योजना समावेश गर्ने तयारीसँगै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले नयाँ आयोजना तथा योजना माग गरेको छ ।
भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ले सूचना जारी गर्दै गुगल फाराममार्फत नयाँ योजना तथा सुझाव माग गरेका हुन् ।
मन्त्री भाटले मन्त्रालय तथा सरकारका कार्यालयमा पहुँच नभएका नागरिकले पनि आफ्ना योजना र आवश्यकता सहज रूपमा सरकारसमक्ष पुर्याउन सकून् भन्ने उद्देश्यले गुगल फाराममार्फत आयोजना संकलन गर्न थालिएको बताए ।
उनका अनुसार गुगल फाराममार्फत प्राप्त आयोजनाको प्राथमिकता निर्धारण गरिनेछ। प्राथमिकतामा परेका केही आयोजना चालु आर्थिक वर्षकै बजेटमा समावेश गरिनेछन् भने केहीलाई आगामी आर्थिक वर्षको बजेटका लागि पूर्वतयारीमा राखिनेछ ।















