कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् गर्न दिने भएको छ। नगरपालिका र आन्दोलित बासिन्दाबीच नौबुँदे सहमतिपश्चात नदीजन्य पदार्थ उत्खनन गर्न दिने भएको हो।
आन्दोलित स्थानीय बासिन्दाका माग सम्बोधन गर्न नगरपालिका तयार भएपछि नदीजन्य पदार्थ उत्खनन अगाडि बढाइएको छ। नगरपालिकाले आब ०७८र७९ मा नदीजन्य पदार्थबाट रोयल्टी संकलनका लागि बनहरा नदी र अनौखी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि गणपति कन्स्ट्रक्सन प्रालिसँग ६८ लाख १३ हजारमा ठेक्का सम्झौता गरेको छ।
नदीजन्य पदार्थ उत्खननका लागि इआइएपश्चात ठेक्का सम्झौता गरेपछि जोखिमयुक्त क्षेत्रका बासिन्दाले सडक स्तरोन्नति, तटबन्ध निर्माण र सडकमा पानी छर्कनुपर्ने माग अघि सार्दै आन्दोलित भएका थिए।
नगर प्रमुख रणबहादुर महरा लगायतको टोलीले नदीजन्य पदार्थ उत्खनन हुने क्षेत्रका बासिन्दाको टोलमै पुगेर अघि सारिएका माग पूरा गर्ने लिखित रुपमै आश्वासन दिएपछि स्थानीय बासिन्दाले नदीजन्य पदार्थ उत्खननमा बिहीबार सहमति जनाएका हुन्।
नगरपालिका र स्थानीय बासिन्दाबीच भएको सहमतिअनुसार सहजीकरण समिति र सामुदायिक वनको सिफारिशमा स्थानीय बासिन्दाले घर बनाउन आवश्यक पर्ने नदीजन्य पदार्थ ठेकेदार पक्ष र सहजीकरण समितिबीचको समझदारीमा ल्याउने पाउनेछन्।
कलुवापुरदेखि मणिकाधाम टोलसम्मको बाटो तत्काल चौडा बनाएर कालोपत्रे गरिने, प्रभावित क्षेत्रमा तटबन्ध निर्माण गुरुयोजनामा पार्न तत्काल सम्बन्धित निकायमा लेखि पठाउने, सडकलाई धुलोरहित बनाउन पानीको व्यवस्था गर्नुपर्ने सहमतिपत्रमा उल्लेख गरिएको छ।
नदीजन्य पदार्थबाट उठेको ५० प्रतिशत रकम प्रभावित क्षेत्रमा तटबन्ध निर्माणका लागि खर्च गर्ने सहमति भएको छ। नदी कटानको जोखिमयुक्त ठाउँमा इआइए भए पनि नदीजन्य पदार्थ उत्खनन नगर्न दुवै पक्ष सहमत भएका छन्। सम्झौताका बुँदाहरू नगर कार्यपालिकाबाट पारित गरी वार्षिक कार्यक्रम निर्धारण गरिने भएको छ।
‘













