धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ गते विश्वासको मत लिने तयारी थालेका छन् । प्रदेश सभामुख भीम भण्डारीले २५ गते विश्वासको मत लिने गरि छलफल भइरहेको जानकारी दिए ।
मुख्यमन्त्री रावलले विश्वासको मत लिने तयारी गरिरहेका बेला नागरिक उन्मुक्ति पार्टी लचक भएको छ । टीकापुर घटनाको सन्दर्भमा झगडिया झिकाउन सर्वोच्च अदालतले आदेश दिएसँगै नागरिक उन्मुक्ति लचक भएको हो । अहिले सम्म विश्वासको मत दिने बिषयमा निर्णय नभए पनि विश्वासको मत दिने बिषयमा सकारात्मक रहेको नागरिक उन्मुक्तिका शीर्ष नेताहरूको भनाइ छ ।
नागरिक उन्मुक्ति संसदीय दलका नेता रामेश्वर चौधरीले पनि केही लचक भएको भन्दै केही दिनमा यस विषयमा ठोस निर्णय हुने जनाए ।
पुस २७ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका रावलले माघ २७ अघि नै विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ ।















