धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले जितेन्द्र खडकाको खोजिका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन । जितेन्द्रको खोजबिन गरिदिन भन्दै मुख्यमन्त्री कार्यालय पुगेका पीडित परिवार र आफन्तजन सङ्ग कुरा गर्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकारले खोजबिनका सबै उपाय अबलम्बन गर्ने बताए ।
जंगली च्याउ खोज्न भन्दै घरबाट निस्किएका बझाङको खप्तड छान्ना गाउँपालिका–७ गोर्खालीका ३३ वर्षीय जितेन्द्र खड्का ९ दिनदेखि सम्पर्कविहीन भएका छन्। लामो समयसम्म घरपरिवारको सम्पर्कमा नआएपछि उनका परिवार तथा आफन्तजनले शीघ्र खोजी गरिदिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टसमक्ष आग्रह गरेका छन्।
खप्तड छान्ना–७ गोर्खालीका अम्मरबहादुर सिंहका अनुसार खड्का भदौ २४ गते बझाङ र बाजुराको सीमा क्षेत्रमा पर्ने लहरे सामुदायिक वनमा जंगली च्याउ खोज्न भन्दै घरबाट निस्किएका थिए। त्यसपछि उनी घर नफर्किएको र परिवारको सम्पर्कमा समेत नआएको बताइएको छ।
परिवारका अनुसार भदौ २९ गते बिहान करिब ७ बजे बाजुराको बडिमालिकामा रहेको टेलिकम टावरबाट खड्काको मोबाइलमा सम्पर्क भएको संकेत देखिए पनि फोन भने रिसिभ हुन सकेन। त्यसपछि उनको मोबाइलसमेत सम्पर्कविहीन भएको बताइएको छ।
खड्का लामो समयदेखि सम्पर्कविहीन भएपछि परिवार तथा आफन्तजनले खोजी कार्यलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारसँग आग्रह गरेका हुन्।
यस विषयमा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी सानुराम भट्टराईसँग टेलिफोनमार्फत कुराकानी गर्दै हराइरहेका खड्काको खोजीका लागि आवश्यक सबै संयन्त्र परिचालन गरी खोजी कार्य तीव्र पार्न निर्देशन दिए ।
डीआईजी भट्टराईले बझाङ र बाजुरा दुवै जिल्लाका सुरक्षाकर्मी परिचालन गरी खड्काको खोजी कार्य जारी रहेको जानकारी दिए।
लामो समयदेखि परिवारको सम्पर्कमा नआएका खड्काको अवस्था अज्ञात रहेकाले उनको खोजीका लागि सुरक्षाकर्मी, स्थानीय तथा सम्बन्धित निकायले खोजी कार्यलाई थप तीव्र बनाएका छन्।















