धनगढी- सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मतको सामना गर्ने तयारी गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेपनि मुख्यमन्त्री रावलले विश्वासको मतको सामना गर्ने तयारी गरेका हुन् ।
एमालेका प्रमुख सचेतक धर्मराज पाठकले विश्वासको मतको समान गर्ने बताए । ‘एमाले विश्वासको मतको सामना गर्छ,’ उनले भने, ‘मतदान प्रक्रियामा पनि जान तयार छौँ ।’
नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निर्णय गरेपछि प्रदेश सरकार अल्पमतमा परेको छ । विश्वासको मतको प्रयोजनका लागि आज (विहीबार) दिउँसो १ बजे बोलाइएको प्रदेश सभा बैठक नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद उपस्थित नभएपछि पुनः ४ बजेका सारिएको छ ।
आफ्नो पार्टीका नेता रेशम चौधरीको रिहाइ सुनिश्चित नभएको भन्दै नागरिक उन्मुक्ति पार्टीले यथास्थितिमै विश्वासको मत दिन नसकिने बताएपछि रावल नेतृत्वको गठबन्धन सरकार धरापमा हो।
मुख्यमन्त्री रावलले विश्वासको मत लिने आज अन्तिम हो । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त रावलको आज एक महिना हुँदैछ। सरकार गठनको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्था छ ।















