बझाङ । चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत पुलान काउन्टीको ताक्लाकोटमा नेपाल–चीन सीमावर्ती अधिकारीहरूबीच सीमा सुरक्षा बैठक सम्पन्न भएको छ। सेप्टेम्बर १४ देखि १७ तारिखसम्म चलेको बैठकमा सीमा सुरक्षा, अवैध गतिविधि नियन्त्रण, व्यापार सहजीकरण तथा कैलाश मानसरोवर यात्रालाई सहज बनाउने विषयमा छलफल भएको हो।
पुलान काउन्टीको स्थानीय प्रशासनले आयोजना गरेको बैठकमा नेपालका तर्फबाट बझाङ र हुम्लाका सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिको सहभागिता थियो। दार्चुलाबाट भने सडक अवरुद्ध भएका कारण एक जना प्रतिनिधि मात्र सहभागी हुन सकेका थिए।
बैठकमा बझाङको प्रमुख जिल्ला अधिकारी मुकेश केसरी, साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहरा, सशस्त्र प्रहरी बलका डिएसपी तथा जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी सहभागी भएका थिए।
बैठकमा नेपाली पक्षले बझाङको सीमावर्ती उरै नाकालाई आधिकारिक रूपमा सञ्चालनमा ल्याउन विशेष जोड दिएको साइपाल गाउँपालिका अध्यक्ष बोहराले बताए। उनका अनुसार उरै नाका कैलाश मानसरोवर जाने छोटो मार्ग भएकाले नाका सञ्चालनमा आए स्थानीय बासिन्दाको आवतजावत, व्यापार तथा धार्मिक पर्यटकको यात्रा सहज हुने अपेक्षा गरिएको छ।
बोहराका अनुसार विगतमा जस्तै उरै नाकाबाट ताक्लाकोट आवतजावत सहज बनाउने, सीमावर्ती नागरिकले भोग्दै आएका समस्या समाधान गर्ने तथा पशुचौपाया चरिचरनका विषयमा देखिएका समस्या समाधान गर्न चिनियाँ पक्षको ध्यानाकर्षण गराइएको थियो।
नेपाली पक्षले उठाएका विषयमा चिनियाँ अधिकारीहरू सकारात्मक देखिएको र आवश्यक विषय माथिल्लो निकायमा छलफल गरी जानकारी गराउने प्रतिबद्धता जनाएको बोहराले बताए।
बैठकमा नेपाल–चीनबीचको परम्परागत व्यापारिक सम्बन्धलाई निरन्तरता दिने, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि आपसी समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने र आगामी दिनमा नियमित रूपमा सीमा बैठक आयोजना गर्ने सहमति भएको छ।
उरै नाका सञ्चालन तथा सीमा क्षेत्रको पुरानो व्यापारिक सम्पर्क पुनः सहज बनाउने विषयले बझाङसहित सीमावर्ती क्षेत्रका स्थानीयको आर्थिक गतिविधि तथा कैलाश मानसरोवर यात्रालाई समेत सहज बनाउने अपेक्षा गरिएको छ।
नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल
नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















