धनगढी – कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले सफाई पाएका छन्। अध्यक्ष उपाध्यायले बिहीबार विशेष अदालत काठमाडौंबाट सफाई पाएका हुन् ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका उपाध्यायविरुद्ध राजश्व हिनामिना गरी सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरेको भनेर विशेष अदालतमा मुद्दा दायर भएको थियो ।
२०७४ को स्थानीय तह निर्वाचनमा वडा नम्बर २ को अध्यक्षमा निर्वाचित उपाध्यायलाई नदीजन्य पदार्थ उत्खनन् गर्न लगाइएको ठेक्काको कम मूल्याङ्कन गरेर राजश्व संकलनमा हानि नोक्सानी पुगाएको आरोप लगाइएको थियो ।
उपाध्यायसँगै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतमाथि राजश्व हिनामिना गरेको अभियोगमा अदालतमा मुद्दा चालाइएको थियो ।
















