धनगढी- धनगढी उपमहानगरपालिकाले सार्वजनिक शौचालय डिजाइन प्रतियोगिता गराउने भएको छ । उपमहानगरले नेपाल आर्किटेक्ट इन्जिनियर्स एसोसिएसनलाई प्रतियोगिता गराउने जिम्मा दिएको उपमहानगरप्रमुख गोपाल हमालले जनाए । प्रतियोगितामा पहिलो र दोस्रो हुने नमुनालाई नगद पुरस्कारको व्यवस्था गरिएको उनले बताए । धनगढी उपमहानगरपालिकाले पहिलो पटक प्रतियोगिता गर्न लागेको जनाएको छ ।
उपमहानगरपालिकाले प्रस्तावित सार्वजनिक शौचालयको डिजाइन प्रतियोगिताका लागि नेपाल आर्किटेक्ट इन्जिनियर्स एसोसिएसनले २१ दिने सूचना निकालेको छ। प्रतियोगितामा प्रथम र दोस्रो हुने शौचालयको नमुनालाई धनगढी उपमहानगरपालिकाले क्रमशः १ लाख २५ हजार र ७५ हजार पुरस्कार प्रदान गर्ने नगरप्रमुख हमालले बताए।
‘हामीले पहिलो र दोस्रो हुने शौचालयको नमुनालाई पुरस्कार दिन्छौँ र त्यो नमुनाको प्याटेन्ट राइट धनगढी उपमहानगरको हुनेछ,’ उनले भने, ‘धनगढी नगरक्षेत्रमा निर्माण गर्ने सार्वजनिक शौचालय पनि त्यहीँ नमुनाअनुसारकै निर्माण गर्ने योजना छ।’
प्रतियोगितामा सहभागिताका लागि फागुन २१ गते आइतवारसम्मको समयसीमा तोकिएको उनको भनाइ छ । सूचना अनुसार प्रतियोगितामा भाग लिन प्रतियोगी वास्तुविद् र वास्तुकलाका विद्यार्थीहरू, तीन जना व्यक्ति वा टोलीले डिजाइन प्रतियोगितामा भाग लिन सक्नेछन्। टोलीका सदस्यहरूमध्ये एक नेपाल आर्किटेक्ट इन्जिनियर्स एसोसिएसन (सोना) को सदस्य हुनुपर्ने छ।















