काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पाटन उच्च अदालतले गरेको फैसलामाथिको पुनरावेदनउपर आज सर्वोच्चमा सुनुवाइ हुँदैछ ।
न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा उक्त मुद्दाको १६ नम्बरमा पेसी चढेको छ । उच्च अदालतले धरौटीमा छाड्ने फैसला गरेपछि सरकारी पक्षले सर्वोच्चमा पुनरावेदन गरेको थियो ।
सँगै सन्दीपले पनि हिजो विदेश भ्रमणमा लगाइएको प्रतिवन्ध फुकुवा गर्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका छन् । यो निवेदनलाई पनि सँगै राखेर सुनुवाइ हुनुपर्ने सन्दीपका वकिलको माग छ ।
उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको थियो जसले गर्दा यूएईमा खेल्न जाने नेपाली राष्ट्रिय टीममा उनी समावेश छैनन् । सन्दीपले उक्त रोक हटाएर आफूलाई यूएई जाने अनुमति दिन निवेदनमा आग्रह गरेका छन् ।















