दार्चुला- दार्चुलाको महाकाली नगरपालिकाको फोहर फाल्ने टिपर दुर्घटना भएको छ। आइतबार सदरमुकाम खलङ्गा बजारको फोहर सङ्कलन गरी डम्पिङ्ग साइटमा फाल्न जाने क्रममा महाकाली नगरपालिका–५ किम्तडीभिरमा दुर्घटना भएको हो ।
दुर्घटनामा चालक महाकाली नगरपालिका-७ का दानसिंह धामी र महाकाली नगरपालिका–५ का सहचालक मनोज हुम्ली घाइते भएको प्रहरीले जनाएको छ ।
महाकाली नगरपालिकाको से १ ग ७६ नम्बरको टिपर किम्तडीभिरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। प्रहरीका अनुसार टिपरको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
टिपरको अगाडिको भागको एक साइडतिर पूर्णरुपमा क्षति पुगेको छ। प्रहरीका अनुसार घाइते चालक र सहयोगलाई जिल्ला अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ ।















