कञ्चनपुर- कञ्चनपुरमा महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणको नहर निर्माण भएको तीन दशकभन्दा बढी भयो । ११ हजार ६ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको उक्त आयोजनाको कमान्ड एरिया भने बर्सेनि घट्दो छ । बढ्दो सहरीकरण र अव्यवस्थित रूपमा भइरहेको विकास निर्माणका गतिविधिले खेतीयोग्य जमिन घट्दै गएको हो ।
०४२ मा सुरु भई ०४८ मा सम्पन्न भएको पहिलो चरणबाट ४ हजार ८ सय हेक्टर र ०५२ मा सम्पन्न भएको दोस्रो चरणबाट ६ हजार ८ सय हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । दुवै चरणअन्तर्गतको व्यवस्थापनको काम समुदायले गरिरहेका छन् ।
तर, अधिकांश शाखा प्रशाखा बन्द भइसकेका छन् । भीमदत्त र वेदकोट नगरपालिका हुँदै बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिका कमान्ड एरिया भए पनि पुछारसम्मका उपभोक्ताले समयमा पानी नपाउने समस्या बढ्दै गएको छ ।
यति मात्रै होइन, दोस्रो चरणअन्तर्गत बेलडाँडी गाउँपालिकाको झिलमिला क्षेत्रमा नहरको पानी सिपेज हुँदा झन्डै सय हेक्टर जमिन सिमसारमा परिणत भएको छ । उक्त जमिनमा बाह्रै महिना दलदल हुने गरेको छ । ‘नहरकै कारण धेरै जमिन बाँझो रहन गयो,’ बेलडाँडीका केशव उपाध्यायले भने, ‘हामी त सुकुम्बासीजस्तै भयौं ।’ २०६३ सालबाट तेस्रो चरणको काम सुरु भएको छ । ३५ अर्ब अनुमानित लागत तोकिएकामा अहिलेसम्म ६ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ ।
मूल नहरको व्यवस्थापन महाकाली, मोहना पथरिया सिँचाइ व्यवस्थापन डिभिजनले गर्दै आएको छ । यसबाहेक अन्य क्षेत्रको व्यवस्थापन उपभोक्ता समितिले गर्छ । आयोजनाकै तेस्रो चरणको नहर निर्माणाधीन छ । असार अन्तिम साता निर्माण सम्पन्न भएको २८ किलोमिटर मूल नहरको दोस्रो पटक परीक्षण गरिएको छ ।
आयोजना सम्पन्न भएपछि ३३ हजार ५ सय २० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुग्नेछ । अहिले मूल नहर निर्माण भएको क्षेत्रमा २२ वटा शाखा नहर निर्माणको काम अघि बढेको छ । २८ किलोमिटर मूल नहरमा पानी सञ्चालन गर्न सकिने भए पनि भारतीय पक्षले औपचारिक उद्घाटन नभई पानी दिन नसकिने अडान दोहोर्याउँदै आएको छ ।
आयोजनाले पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला उद्घाटनको तयारी गरेको थियो । तर, त्यो सम्भव हुन सकेन । यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा पनि उद्घाटनको तयारी भएको थियो ।
यो आयोजनाले कैलाली र कञ्चनपुरमा सिँचाइ सुविधा पुग्नेछ । ‘उद्घाटन भए पनि नियमित पानी सञ्चालन हुन्छ, केही पुराना सिँचाइ प्रणालीबाट खेतमा पनि पुग्छ,’ आयोजना निर्देशक रणबहादुर बमले भने, ‘शाखा नहर निर्माणको प्रक्रिया अघि बढिसकेको छ, अबको दुई वर्षमै पूरा गर्ने लक्ष्य छ ।’
आयोजनाअन्तर्गत दोधारा चाँदनीतर्फको नहर निर्माणको काम भने अगाडि बढ्न सकेको छैन । महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट ब्रह्मदेव नहरका लागि र शारदा नहरबाट दोधारा चाँदनीका लागि पानी उपलब्ध गराउने व्यवस्था छ । दुवैतर्फ नेपाल–भारत सीमासम्मको नहर भारतीय पक्षले नै निर्माण गरिदिने सन्धिमै उल्लेख छ ।













