धनगढी- धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीकोशल्यक्रिया गर्न आएका बिरामीको मृत्यु भएको छ। दुवै मृगौलामा पत्थरी भएर शल्यक्रिया गर्न आएका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो।
मृगौलाको शल्यक्रिया गरेर १४ एमएम र साढे नौ एमएमको पत्थरी निकालिएको भए पनि शल्यक्रियामा गरिएको त्रुटिले बिरामीको ज्यान गएको आफन्तले आरोप लगाएका छन्।
मृतक चौधरीकी छोरी सुस्मा दहितका अनुसार दुवै किड्नीमा पत्थरी भएपछि भदौ ८ शुक्रवार ११ बजे बुवा ऐजनलाललाई अस्पताल भर्ना हुन आउनु भएको थियो ।
‘अस्पतालमा डाक्टरले दुवै मृगौलामा पत्थरी रहेकाले शल्यक्रिया गर्न सुझाव दिएका थिए। आफै हिँडेर अस्पताल सम्म बुवा आउनु भएको उनले बताइन् । ‘डाक्टरले अप्रेसन गर्न सक्छु भनेर बुवालाई आसा देखाएपछि बुवा अस्पताल भर्ना हुनु भयो र अप्रेसनका लागि तयार हुनु भयो,’ उनले भनिन् ।
अस्पतालले बिरामीलाई सोही दिन दिउँसो १ः३० मा शल्यक्रिया कक्षमा लगेका थिए। चौधरीको शल्यक्रिया दिउँसो २ः३० मा सकिएको थियो। शल्यक्रियामा संलग्न चिकित्सकले अप्रेसन सफल भएको बताएका थिए।
शल्यक्रिया गरेको १ घण्टापछि बिरामीले पेट दुख्न थालेको छोरी दहितले बताइन् । बिरामीको स्वास्थ्यमा देखिएको समस्याका बारे अस्पतालमा कार्यरत नर्सलाई भन्दाभन्दै बिरामी बेहोस भएको उनले बताइन् । बुवाको साँझ ७ बजेतिर दोस्रो शल्यक्रिया गरेर एउटा मृगौला झिकिएको बताइन्। ‘डाक्टरले पथ्यरी निकाल्दाभित्र नसा काटिएकाले आन्तरिक रक्तस्राव भयो।
तसर्थ बिरामीलाई बचाउन मृगौला झिक्नुपर्ने बताएपछि हामीले हुन्छ भनेर मन्जुरी दिएका हौँ,’उनले भनिन्, ‘दोस्रो शल्यक्रिया गरेर मृगौला झिकेपछि बुवा होसमा नै आउनु भएन। अस्पतालको लापरबाहीले बुवाको मृत्यु भएको हो।’
मृतकी छोरी दहितका अनुसार पहिलो शल्यक्रिया गर्नु पूर्व बिरामीको शरीरमा ६ प्वाइन्ट रगत रहेकोमा शल्यक्रिया पश्चात् घटेर दोस्रो शल्यक्रिया गर्न लैजाँदा दुई प्वाइन्ट मात्रै रगत रहेको डाक्टरले बताएका थिए। शनिवार रातभर रेडक्रसको रक्तसञ्चार केन्द्रबाट २३ प्वाइन्ट रगत चढाइएको थियो। डाक्टरले शल्यक्रियासफल भयो भनेर झुठो बोलेर आफ्नो गल्ती ढाकछोप गर्न खोजेको उनले बताइन् ।
उनले भने, ‘गल्तीको सजाय अस्पताल र डाक्टरले पाउनुपर्ने हुन्छ। अस्पताल खुल्दाखुल्दै बदमासी गरिएको छ। मान्छेको ज्यानमाथि गरिएको खेलबाड क्षम्य हुनुहुन्न।’ अहिले सम्म अस्पताले मृत्यु समेत घोषण नगरेको उनको भनाइ छ ।
अस्पतालमा कार्यरत सर्जन डाक्टर जोनस तिवारीको टोलीले चौधरीको शल्यक्रिया गरेको आफन्तले बताएका छन्।
अस्पतालका अध्यक्ष महेश जोशीले बिरामी हामीका किड्नीको पत्थरीको अप्रेशन गर्न आएको र अप्रेशन समेत भएको बताए । अप्रेशन गर्दा पोवाल पारेको ठाउँबाट रगत नरोकिएपछि किड्नी निकालेको उनले सुकाय ।
‘एउटा किड्नीले पनि मान्छे बाच्छ भनेको भएर एउटा किड्नी निकालिएको हो,’उनले भने । अन्तिम अवस्था आइपरेकोले यस्तो घटना हुन पुगेको उनले बताए । अस्पतालको कुनै पनि लापरबाही नभएको उनले दाबी गरे ।













