धनगढी- धनगढीमा अब एक सय रुपैयाँमै खाना पाइने भएको छ । बुधवार देखी धनगढी रङ्गशाला अगाडि अपि सैपाल थकाली खाना घर एण्ड क्याफेले एक सय रुपैयाँमा खाना खुवाउने भएको हो । खाना घरसँगै क्याफेको उद्घाटन सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीले गरेका हुन्।
खाना घरमा स्पेसल थकाली खाना, कोदो र मकैको रोटी, कोदोको ढिँडोसमेत उपलब्ध रहेको सञ्चालक रामबहादुर बोहराले बताए। बझाङको बुङ्गल नगरपालिका घर भएका खाना घर तथा क्याफे सञ्चालक बोहराले करिब ७० लाखको लगानीमा खाना घर र क्याफे सञ्चालनमा ल्याएको बताए।
खाना घर एण्ड क्याफेमा रेष्टुरेन्ट, क्याबिन र दुई वटा डाइनिङ हल रहेका छन्। खाना घरमा मटन र लोकल चिकेन खाना २५० मा खुवाइने छ भने थकाली खानाको मूल्य ४२०, कोदो र मकैको रोटी, चटनी, साग र मोहीको १७० रुपैयाँ मूल्य रहेको छ।
होटेल सञ्चालक बोहराले बझाङको अर्गानिक मकै र कोदो अनि भाङको चटनी र मोही नास्ताको रूपमा उपलब्ध हुने बताए। उनले स्कुल कलेज पढ्ने विद्यार्थी र अन्य कामकाजी व्यक्तिहरूलाई मध्यनजर गरेर एक सयमा शाकाहारी खाना उपलब्ध गराउने सोच बनाएको बताए।













