धनगढी- राष्ट्रिय मुक्त हलिया समाज महासंघले मुक्त हलियाको न्यायिक पुनःस्थापनाका लागि अधिकार यात्रा (क्याराभान) गरेको छ । बुधबार डडेल्धुराबाट सुरु भएको महासंघको क्याराभान बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै समापन भएको छ । महासंघले हलिया मुक्तिको १५ औँ मुक्ति दिवसको अवसरमा अधिकार यात्रा (क्याराभान)को आयोजना गरिएको आयोजकले जनाएको छ ।
राष्ट्रिय मुक्त हलिया समाज महासंघका केन्द्रीय अध्यक्ष ईश्वर सुनारले अझै २० प्रतिशत मुक्त हलिया पुनःस्थापनाको पर्खाइमा रहेको बताए । उनले भने ‘मुक्तिको लामो समय हुँदा पनि पुनःस्थापनाको कामले पूर्णता पाएको छैन्,पहिलो किस्ता पाएकाले दोस्रो किस्ता पाएका छैनन्,छुट मुक्त हलियाको तथ्यांक समेटिएको छैन् ।
मुक्त हलियाले पीडादायी जीवन यापन गर्नु परेको बताउँदै उनले भने ‘सरकारले नीति तथा कार्यक्रममा मुक्त हलिया कुरा ल्याउँछ बजेटमा ल्याउँदैन’ ।
तीनै तहका सरकारलाई पुनःस्थापनाको काम अझै बाँकी छ भन्ने सन्देश दिन,छिटो भन्दा छिटो पुनःस्थापनाका लागि ध्यानाकर्षण गराउन क्याराभान गरिएको उनले बताए । नेपाल सरकारबाट प्रमाणिकरण भएको १६ हजार ९ सय ५३ घरधुरी मध्ये १३ हजार ५ सय ४६ घरधुरीले मात्रै पुनःस्थापना प्याकेज पाएको जनाइएको छ ।
क्याराभानमा सहभागी महासंघका केन्द्रीय सदस्य राजुराम भूलले मुक्त हलियाको पुनःस्थापनामा सरकारको लापरबाही भएका कारण न्यायिक पुनःस्थापनाका लागि तीनै तहका सरकारलाई दवाब दिन क्याराभान गरेको बताए ।
उनले भने ‘सरकारले मुक्त हलियाका लागि बजेट पनि छुट्याउँदैन्,तीन तहका सरकारले मुक्त हलियाको पुनःस्थापनाका लागि ध्यान दिएको छैन्,सरकारको ध्यान आकर्षणका लागि क्याराभान गरिएको हो’ । डडेल्धुराबाट सुरु भएको क्याराभान डोटीको बुडरमा हलिया बस्तीमा छलफल गरेर धनगढी पुगेको उनले बताए ।
त्यस्तै क्याराभानमा सहभागि महासंघ अछामका सचिव डन्डीबहादुर विकले नेपाल सरकार र हलिया महासंघबीच भएको सहमति अनुसार मुक्त हलियाको न्यायिक पुनःस्थापना नभएको बताए ।
उनले भने ‘मुक्त हलियाको न्यायिक पुनःस्थापनासँगै शिक्षा,स्वास्थ्य,रोजगारीको क्षेत्रमा सरकारलाई दवाव दिन क्याराभान गरिएको हो’ । छुट मुक्त हलियाको तथ्यांक संकलन गरेर पुनःस्थापना गर्नुपर्ने,परिचयपत्र पाएकालाई पुनःस्थापना प्याकेज दिनु पर्नेलगायतका माग रहेको उनले बताए ।
क्याराभानमा सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ,अछाम,डोटी,बाजुरा,बैतडी र डडेल्धुराका २२ जनाको सहभागिता रहेको राष्ट्रिय मुक्त हलिया समाज महासंघका कार्यकारी निर्देशक हरिसिंह बोहराले जानकारी दिए ।
क्याराभान इएबीएल परियोजना अन्तरगत एक्सन एड इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा गरिएको उनले बताए । क्याराभानका लागि डडेल्धुराको अमरगढी नगरपालिका ३५ र अजयमेरु गाउँपालिकाले २० ओटा भेष्ट सहयोग गरेको उनले बताए ।













