टीकापुर- टीकापुर स्थित त्रिपत विद्या निकेतनको बस सिँचाई आयोजनाको नहरमा खस्दा १५ जना विद्यार्थी घाइते भएका छन्। विद्यार्थी बोकेर गइरहेको ना ५ ख ३२६४ नम्बरको बस जानकी गाउँपालिका वडा नं. ९ कुन्तीस्थित रानी कुलाको नहरमा खसेको हो।
नहरमा खसेको बसबाट स्थानीयले विद्यार्थीको उद्धार गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लोकराज अवस्थीले जानकारी दिए। उनका अनुसार घाइते विद्यार्थीहरूलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको छ। बसका चालक फरार रहेको बताइएको छ।
नहरको किनारमा रहेको सडक सतह चिप्लो भएका कारण बस चिप्लिएर खसेको विद्यालयका सञ्चालक मनिष बलायरले जानकारी दिए। उनका अनुसार बस विद्यार्थी बोकेर घरतर्फ छोड्न गएको थियो।















