बैतडी– भारतको दिल्लीमा रोजगारीको सिलसिलामा रहेका बैतडीका एक जनाको मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका–१ कुँड घर भएका अन्दाजी २८ वर्षीय सुरेन्द्र साउदको मंगलबार निधन भएको उनका आफन्त समेत रहेका नेपाली काँग्रेस बैतडीका सहसचिव दशरथ चाडले बताए ।
गएको चार÷पाँच वर्षदेखि रोजगारीका लागि दिल्लीमा रहेका साउदको हृदयाघातका कारण निधन भएको चाडले बताए । परिवारसहित दिल्लीमा बस्दै आएका साउदको मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ ।
मंगलबार एक्कासि ढलेका साउदलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक साउदका एक छोरी र श्रीमती रहेका छन् । उनीहरू पनि दिल्लीमै रहेका बताइएको छ ।















