धनगढी- धनगढी उपमहानगरपालिकाबाट मुक्तिनाथ यात्रामा गएका दुई युवक देवघाटमा बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिकाले मुक्तिनाथ यात्रामा पठाएका वृद्ध वृद्धासँगै स्वयंसेवकका रूपमा गएका दुई जना युवा देवघाटमा पौडी खेल्दा बेपत्ता भएका हुन्।
बिहीबार बिहान ७:३० बजे काली गण्डकी र त्रिसुलीको दोभानमा पौडी खेल्न जाँदा उनीहरू डुबेर बेपत्ता भएका हुन्। धनगढी उपमहानगरपालिकाले १९० जना वृद्ध वृद्धालाई मुक्तिनाथ यात्राका लागि यही आइतबार पठाएको थियो। धनगढीमा रहेको लक्ष्मीनारायण मन्दिरले यात्राको संयोजन गरेको थियो।
लक्ष्मीनारायण मन्दिरबाट स्वयंसेवकका रूपमा मुक्तिनाथ यात्रामा गएका भारतको असाम घर भएका १८ वर्षीय भोजराज अधिकारी र धनगढीको मिलन चोक घर भएका १५ वर्षीय पंकज दाहाल नदीमा डुबेर बेपत्ता भएका उनीहरूसँगै यात्रामा रहेका लक्ष्मीनारायण मन्दिरका सचिव हरि न्यौपानेले बताए।
नदीमा पौडी खेल्ने क्रममा भुमरीमा परेर दुवै जना बेपत्ता भएका भए पनि अन्य तीर्थालुहरू भने सकुशल रहेको उनले बताए।पौडी खेल्ने क्रममा एक जना भुमरीमा परेर डुबेपछि बचाउन गएका अर्का पनि बेपत्ता भएको न्यौपानेले बताए। दुवै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।













