नरेन्द्र रावल/ अछाम- कुनै ताका अछामका प्रत्येक गाउँ बस्तीमा पाइने अर्गानिक तेल पेल्ने कोल, धान कुट्ने ढीक्की र पीठो बनाउने जाँताहरू आज भोलि लोप हुँदै गएका छन् ।
विगतमा ७५ वटा गाउँ विकास समिति रहेको अछाम जिल्लामा हाल १० वटा स्थानीय तहको संरचना बने पनि प्रम्परागत तेल पेल्ने कोल, धान कुट्ने ढीक्की र पिठो पिस्ने जाताहरु लोप हुँदै गएका छन् ।
विगतका दिनमा पाका पुराना मान्छे हरुले कोल, जाँता र ढीक्कीको प्रयोग गरी अर्गानिक तेल, चामल र पिठो बनाउने गरेपनी हाल आधुनिक मिलको प्रयोगले गर्दा कोल जाँता र ढीक्कीको लोप हुँदै गएको स्थानीय बताउँछन् ।
हाल मिलको प्रयोग गरी चामल, तेल र पीठोको निर्माण गरेपनी मीलको उत्पादनमा मीठोपना र स्वाद नहुने बताउँदै कोल, जाता र ढीक्कीबाट उत्पादित अन्नको महत्वमा पछिल्लो पीढीले नबुझेको हुँदा कोल, जाता र ढीक्कीको संरक्षण गर्नुपर्ने ढकारी गाँउपालीका वार्ड नम्बर २ की मंन्धरादेबी बुढाले बताए ।
विगतका वर्षहरूमा अछामका प्रत्येक टोलमा तेल पेल्ने कोल प्रत्येक घरमा ढीक्की र जाताहरु पाइने गरेपनी हाल आधुनिक मिलको प्रयोगले गर्दा कोल, जाँता र ढीक्की लोप हुँदा अछामका केही स्थानीयले चिन्ता व्यक्त गरेका छन ।
अछामका सुन्दर ग्रामीण बस्तीहरू सँगै थप सुन्दरता झल्काउने कोल, जाँता र ढीक्कीको संरक्षणमा यहाँका स्थानीय सरकार जुट्नुपर्ने जानकारहरू बताउँछन् ।
















