कैलाली- नेपाल कम्युनिष्ट पार्टी माआवादीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको प्राथमिकता विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पक्षमा रहेको बताएका छन् । शुक्रबार कैलालीको धनगढी उपमहानगरपालिका –१६ स्थित घसिटा गाउँमा आयोजित नेकपा (माओवादी) केन्द्रको विशेष रुपान्तरण अभियान कार्यक्रममा बोल्दै उनले देशको विकास र जनताको चाहना अनुसार सरकारले काम गरिरहेको बताए ।
उनले नेपालको प्रतिष्ठा बढाउन र अन्तर्राष्ट्रिय सहयोग जुटाउनका लागि आफूले छिमेकी राष्ट्र भारत, चीन र अमेरिकाको भ्रमण गरेको बताए ।
पार्टीको विशेष रुपान्तरण अभियानले जनतामा नयाँ, आशा जगाउन सफल भएको दाबी गर्दै उहाँले जनयुद्धका घाइते, सहिद परिवार, बेपत्ताका परिवारसँग माओवादीलाई जोड्न सफल भएको बताए ।
रुपान्तरण अभियान पुस १५ भित्र सम्पन्न गरेपश्चात विधान सम्मेलन गरेर फेरि अर्को कार्यक्रम सञ्चालन गरिने प्रधानमन्त्री दाहालको भनाई थियो । रुपान्तरण अभियान अन्तर्गत नेकपा (माओवादी केन्द्र) सातै प्रदेशको एक–एक वडामा पुगेर जनताको कुरा सुन्ने निर्णयअनुसार आफूपनि यहाँ आइपुगेको उनले बताए । कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले सुदूरपश्चिमको समग्र विकासका लागि आफू सधै सकारात्मक भएको बताए ।













