दार्चुला- ट्रकको ठक्करबाट दार्चुलाकी एक महिलाको मृत्यु भएको छ। छोरा भेट्न दार्चुलाबाट काठमाण्डौं जाँदै गरेकी दुहुँ गाउँपालिका–४ की करिब ५५ बर्षीया शान्तिदेवी बमको ट्रकको ठक्करबाट मृत्यु भएको हो।
बिहीबार बिहान दार्चुलाबाट महाकाली यातायातको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १२५५ नम्बरको बसमा चढेकी बमलाई शुक्रवार बिहान बागमती प्रदेश ०३–००१ ख १८६६ नम्बरको ट्रकले ठक्कर दिएको हो।
कपिलवस्तुको शिवपुर नगरपालिका–५ मा बस रोकिराखेको अवस्थामा शान्तिदेवी बाहिर निस्केकी थिइन्। उनलाई सोही बेला विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।
ट्रकको ठक्करबाट गम्भीर घाइते बमलाई उपचारका लागि चौराह अस्पताल बुटवल लगिएको र उपचारकै क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुका प्रहरी निरीक्षक गिताप्रसाद चौधरीले बताए। मृतक बमका छोरा काठमाण्डौंमा छन्। शान्तिदेवीलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।













