धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार ललितपुरको बालकुमारी घटनामा मारिएका अछामका युवकका परिवारलाई क्षतिपूर्ति दिने भएको छ ।
सो घटनामा मारिएका अछामको चौरपाटी गाउँपालिकाका २२ वर्षीय वीरेन्द्र शाहको परिवारलाई क्षतिपूर्ति स्वरुप रु.दुई लाख दिने भएको हो । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले वीरेन्द्रको निधनले आफू दुखी भएको बताउँदै काजक्रिया लगायतका काम गर्न रु.दुई लाख राहत दिने बताए ।
त्यस्तै शाहका हत्यारालाई कारवाहीको माग गर्दे धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले मृतकको शब अछाम पु¥याउनु पर्ने, मृतकलाई शहिद घोषणा गर्नुपर्ने, उनका परिवारलाई उचित क्षतिपूर्ति, आफन्तलाई रोजगारी र आमाबुवालाई पालनपोषण गर्नु पर्ने लगायतका आठ बुँदे माग राखेको मृतकका आफन्त भरतबहादुर शाहले जानकारी दिए ।













