काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले कैलालीमा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने कुरामा कुनै दुविधा नराख्न आग्रह गरेका छन् । मन्त्री राईले शहीद दशरथ राष्ट्रिय विज्ञान प्रतिष्ठान चलाउने कि भन्ने छलफल भएपनि अब त्यसलाई अब विश्वविद्यालयकै रुपमा अघि बढाउने बताएका हुन् ।
मंगलवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा बोल्दै उनले यसअघि भने सो ठाउँमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने कि स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भन्ने विषयमा संघ र स्थानीय सरकारबीच अलमल भएपनि अब विश्वविद्यालयकै रुपमा अघि बढाउने विषयमा सरकार स्पष्ट रहेको बताए ।
उनले सो विश्वविद्यालयले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग गरिएको सम्झौता अनुसारको ७ वटा मेडिकल कलेज सोही विश्वलिद्यालयको मातहतमा राख्ने सोच सरकारले अघि बढाएको पनि बताए । मन्त्री राईले बुटवल र बर्दिवासमा मेडिकल कलेज स्थापनाका लागि जग्गा प्राप्तीको काम सकिएको र उदयपुर र इलाममा सो प्रक्रिया शुरु गरिएको पनि समितिलाई जानकारी दिए ।
उनले विश्वविद्यालय स्थापनाका लागि स्वास्थ्य मन्त्रालयसँग आफ्नो मन्त्रालयको कुनै पनि खालको तानातानीको अवस्था नरहेको पनि बताए ।उनले भने, ‘अब यो प्रतिष्ठान होइन, स्वास्थ्य विज्ञान विश्वविद्यालयकै रुपमा जान्छ ।, डाक्टर गोविन्द केसीजीसँग सरकारले गरेको सम्झौता अनुरुप ७ वटा मेडिकल कलेजहरु चलाउनुपर्ने । अब ती कलेजमध्ये सम्भवतः केही कलेजहरु यो विश्वविद्यालय दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सम्बन्धन अन्तर्गत चल्ने सोचको बारेमा पनि छलफल चलेको छ ।
वुटवल, बर्दिवासमा जग्गा प्राप्तको काम सकिएर डिपीआर बन्ने प्रक्रियामा छ । उदयपुर र इलामको हकमा इलाममा अब जग्गा प्राप्ती गर्ने काम टुंगो लाग्ने अवस्था छ । उदयपुरमा चाहीँ जग्गा प्राप्तीको निम्ति छनौटको विभिन्न ८/९ वटा विकल्पहरु छनौट समितिले हामीलाई दिएको छ । त्यसलाई टुंगो लगाउन बाँकी छ ।’
मन्त्री राईले विश्वविद्यालय बनाउने कुराको स्वामित्व शिक्षा मन्त्रालयले लिने भएकाले त्यसमा स्वास्थ्य मन्त्रालयसँग विवाद छ भन्ने कुरा नगर्न पनि सांसदहरुलाई आग्रह गरे ।













