धनगढी- नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिमबाट उम्मेदवारका लागि २१ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । माओवादी केन्द्रको प्रदेश कार्यालयका सचिव उद्धव भट्टराइका अनुसार खुलामा नौ जना तथा अपाङ्गता र महिलाबाट ६÷६ जनाको नाम प्राथमिकता क्रमअनुसार सिफारिस गरेर पठाइएको छ ।
माओवादीले प्रदेशबाट खुलातर्फ देवराज रेग्मी (बझाङ), टीकाराम जैसी (कैलाली), दीपक साउँद (अछाम), देवीलाल चौधरी (कञ्चनपुर), लालबहादुर सोडारी (कैलाली), लक्ष्मणदत्त जोशी (दार्चुला), दुर्गा अधिकारी (कैलाली), गोविन्द तिमिल्सिना (कैलाली) र लोकेन्द्र लम्साल (कञ्चनपुर) को नाम सिफारिस गरेको छ । खुलातर्फ रेग्मी, जैसी र जोशीमध्ये एउटाले टीकट पाउने संभावना रहेको बताइएको छ ।
त्यस्तै अपाङ्गतातर्फ गम्भीर थापा (बझाङ), जितबहादुर करिया कंग्रहुवा (कञ्चनपुर), प्रेम बयक (कैलाली), दीपेन्द्र रावल (अछाम), जंगबहादुर बिक (डोटी) र संजय कट्टेल (बाजुरा) को नाम सिफारिस गरिएको कार्यालय सचिव भट्टराइले जानकारी दिए ।
महिलातर्फ रेनु चन्द (बैतडी), सरु चौधरी (कैलाली), मोतीकला चलाउने (अछाम), अञ्जिता श्रेष्ठ (डोटी), लिला कुँवर (दार्चुला) र बिमला सिंह (कैलाली) को नाम सिफारिस गरिएको माओवादी प्रदेश कार्यालयले जनाएको छ । माओवादीका एक नेताका अनुसार अपाङ्गतातर्फ थापा र महिलातर्फ चन्दले टीकट पाउने संभावना छ ।
सुदूरपश्चिमबाट खुला, अपाङ्गता र महिलामा एक/एक गरी तीन जना राष्ट्रिय सभा सदस्यका लागि आगामी महिना निर्वाचन हुनेछ । सत्ता गठबन्धनबीच सिट बाँडफाट भने भइसकेको छैन । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य बनेका ३ जनाको पदावधि आगामी फागुनमा सकिँदैछ ।













