कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ खैरभट्टीमा एक युवती मृत फेला परेकी छन् । पुनर्वास नगरपालिका–६ की २२ वर्षिया लक्ष्मी खडका खैरभट्टीस्थित नन्दा जोशीको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
मृतकका परिवारले खड्कालाई बलात्कारपछि हत्या गरी झुण्ड्याएको आशंका गरेका छन्। खड्का मृत भेटिएपछि उनीसँगै बस्दै आएका हुम्ला सिमकोट–४ का भेसराज शाहीलाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले शाहीलाई पक्राउ गरी अनुसन्धान थालिएको बताएका छन् । प्रवक्ता डाँगीका अनुसार पक्राउ परेका शाही नन्दा जोशीको घर रेखदेखको काम गर्थे ।
फोनबाट चिनजानमा आएकी मृतक खड्का ४ दिनअघि घरबाट शाहीसँगै भागेर गएकी थिइन्। मृतक खड्का बुवा तारा खड्काले उनी ४ दिन अघि घरबाट भागेर आएकी बताए।
घर परिवारलाई उनले आफू फरक फरक स्थानमा रहेको जानकारी गराउँदै आएकी थिइन । उनले महेन्द्रनगर, अत्तरिया र काठमाडौँ छु भन्दै आएको उनका बुवाले बताए।
















